देश समृद्धिको नारामा डुबेको छ । जनता पनि समृद्धिप्रति आशावादी छन् । अहिलेको चुनावमा झन्डै दुई तिहाइ मत ल्याएर जित्न सफल वामपन्थि गठबन्धनले यो जनचाहनालाई राम्रोसंग ‘क्यास’ गरेको देखिन्छ । तर गठवन्धनले अंगिकार गरेको र जनताले चाहेको सम्वृद्धिको परिभाषा, तरिका र खोजेको उपलव्धि एउटै छैन । यो सत्यतालाई विचार गरिएन भने अधोगति र असन्तुष्टि सिर्जना हुनेछ र देशमा झन् ठूला संकटहरु आईपर्नेछन् । ठूला परियोजनाहरु सन्चालन गर्ने र बन्द ब्यापार बढाउने र यसरी बढेको ब्यापारले आर्थिक बृद्धि हुन्छ, जसले गर्दा देशमा समृद्धि सिर्जना हुन्छ भन्ने बुझाइ छ । आर्थिक वृद्धि नै समृद्धि हो भन्ने बुझाइले समाजमा पैसा नै सबै भन्दा ठूलो चिज हो भन्ने भावना विकास भएको छ । यो बुझाइले समाजमा पैसा नै सबै भन्दा ठूलो चिज हो भन्ने भावना विकास भएको छ ।
जसरी पनि पैसा कमाउनु पर्छ भन्ने सोचाइले अहिलेको युवापुस्ता कि शहर पस्दैछ कि विदेशिएको छ । कुनै उपाय नै नभएर मात्रै युवा विदेशिएका होइनन् । गाऊँघरमा समेत सरसापट, अैचोपैंचो हराउँदै गए र एक आपसमा पैसा कमाउन प्रतिस्पर्धा बढ्यो ।
जीवनका महत्वपूर्ण पक्षहरु, जस्तै भाइचारा, सहअस्तित्व, सरसहयोग, गुजाराका साधनको सहज उत्पादन, वातावरण, शान्त समाजजस्ता कुराहरु ओझेलमा परेका छन् । जनताको सम्वृद्धिभित्र यी सबै कुराहरु पर्दछन् भने राज्यको समृद्धिभित्र देशको आर्थिक वृद्धि मात्रै परेको देखिन्छ । आर्थिक वृद्धि भए पछि यीअन्य पक्षहरु स्वतः उपलब्ध हुन्छन् भन्ने बुझाइले अहिलेको समृद्धिको खाका निर्देशित छ ।