माओवादी केन्द्रका लोकप्रिय नेता र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई एउटा मिथकीय पात्रका रुपमा व्याख्या गर्ने थुप्रै प्रयास भएका छन् । तर, वास्तविक अर्थमा उनी असाध्यै सरल र सहज व्यक्ति हुन् । युद्धकालमा बादलको छवि सैन्य रणनीतिकारको बनेको थियो, विदेशमा र अन्यत्र पनि । त्यो पनि पूर्णरुपमा सही थिएन ।
वादलमा सैन्य क्षेत्रको गहिरो ज्ञान छ । तर, उनको त्यो प्राविधिक पक्ष महत्वपूर्ण होइन । समग्र राजनैतिक र रणनीतिक पक्ष नै उनको महत्वपूर्ण पक्ष हो । विशेषः संगठन सञ्चालन, परिचालन एवं संगठन तथा संघर्षका कार्ययोजना बनाउने र त्यसको विशद् व्याख्या गर्ने उनमा उच्च क्षमता छ । प्रचण्डबाहेक शायद त्यो क्षमता माओवादी केन्द्रमा अरु कुनै पनि नेतामा छैन । बादल व्याख्या मात्र होइन, व्यवहारमा पनि उनी त्यत्तिकै सघनताका साथ, अविश्राम खटिन सक्छन् । जनयु्द्धको आरम्भको सिज अभियान त्यसकै एउटा पाटो थियोे ।
बादलको अर्को विशेषता हो- उनी मार्क्र्सवादका तीनवटै अंगहरु दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादको सुन्दर व्याख्या गर्न सक्छन् । पार्टीका रणनीति र कार्यनीतिबारे घण्टौं चित्तबुझ्दो र तर्कपूर्ण ढंगले व्याख्या गर्ने क्षमता बादलमा छ ।
गुल्मी जिल्लाको एउटा सामान्य गाउँ बडागाउँमा जन्मिएका एउटा साधारण बालक रामबहादुर थापालाई त्यसै क्षमताले नै बादलको उचाइसम्म पुर्याएको हो ।
कुन जातजाति वा समुदायविशेषमा जन्मिने भन्ने विकल्प मानिससँग छैन । बादलजीको अर्को विशेषता हो, उनी आफू जन्मेको समुदाय मगर वा जनजाति समुदायमा मात्र होइन, सबै जातजातिबीच समान रुपले लोकपि्रय छन् । मगर दिवसको अवसरमा मगर र जनजाति समुदायले मात्र होइन, मुलुकमा अन्य समुदायले पनि पूर्ण अधिकार पाएका छैनन् भन्ने उनको भनाइले वास्तवमा उनी मगरको मात्र होइन, सिंगो मुलुककै नेता हुन् भन्ने कुरा एकपटक पुनः पुष्टि भएको छ ।