आज फागुन २१ गते, फागुन २१ गते आउने बित्तिकै हरेक वर्ष कम्युनिष्ट आस्थावानहरुले २०२९ सालको फागुन २१ गते सम्झन्छन् । वर्गीय मुक्तीका लागि हासीहासी आफ्नो प्राण उत्सर्ग गर्ने योद्धाहरुको सम्मानमा शीर झुकाउँछन्, बिद्रोह सम्झन्छन्, माक्र्सबाद-लेनीनबाद सम्झन्छन् । ४५ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँच जनाले शाहदत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ । २०२८ सालमा सुरु भएको झापा बिद्रोहले नेपाली कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याएको हो भन्ने कुरामा सायद कसैको फरक मत होला । यद्यपी आन्दोलनका केही पाटा पक्षहरुमा केही कमजोरी रहेको थियो होला तर सामन्तबाद-दलाल-नोकरशाही-पुँजीवादको अन्त्य गर्दै वर्गीय मुक्तीको सपना बोकेर उठान भएको झापा विद्रोहले नेपाली कम्युनिष्ट आन्दोलनलाई उर्जावान वनाएकाके सत्य हो । उक्त बिद्रोहसंगै ढलेका तिनै शहीदहरु अव हाम्रा बिचमा शालिकमा मात्रै सिमित छन् । भावपूर्ण श्रद्धाञ्जली ।
कम्युनिष्टहरुले यि शहीदहरुलाई आफ्नै तरिकाले सम्झने गरेको भएपनि राज्यको तर्फवाट ति योद्धाहरुको कुनै गन्ती भएन । प्रजातन्त्र, लोकतन्त्र जे आएपनि उनीहरु ओझेलमै रहे । २०७१ सालमा बल्ल पूर्णकदको शालिकमा उभिन पाए उनीहरुले । जाँड खाँदाखादै ढलेकाहरुलाई पनि, कुनै आपराधिक क्रियाकलापमा संलग्न भई मृत्यु भएकाहरुलाई पनि र कालगतिले मृत्युवरण गरेकाहरुलाई पनि शहीद घोषणा गर्ने चलन रहेको हाम्रो देशमा ति योद्धाहरुलाई शहीदको सूचीमा दर्ज हुन ४३ बर्ष लाग्यो अर्थात २०७२ सालबाट उनीहरुले शहीदको मान्यता पाए ।