एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको ३८ औं प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व सम्हालिरहेका छन् । वाम गठबन्धनको यो सरकारप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो अत्याधिक छ । हुन त यो सरकार देशले पाएको वामपन्थी नेतृत्वको पहिलो सरकार भने होइन ।२०६२-६३ को राजनीतिक परिवर्तनपछि बनेका १० वटा सरकारलाई विचारधाराका आधारमा छुट्टयाउने हो भने प्रचण्ड नेतृत्वको सरकारदेखि वर्तमान प्रधानमन्त्री ओलीसम्म आउँदा वामपन्थीहरुकै नेतृत्वमा सात वटा सरकार बनिसकेका छन् । यस अवधिमा आमूल रूपान्तरणका एजेण्डाधारी क्रान्तिकारी कम्युनिस्टदेखि सामाजिक न्यायका छिटफूट कामबाट वामपन्थी पहिचान कायम राखेका ‘मोडरेट’ कम्युनिस्टसम्मले सरकारका सञ्चालन गरिसकेका छन् । प्रधानमन्त्रीको रूपमा ओलीकै पनि यो दोस्रो कार्यकाल हो । तर, यसपटकको वाम सरकारबाट जनताको बढी नै आशा र अपेक्षा देखिन्छ ।
यसका केही कारण छन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि बितेका २७ वर्षमा मुलुक ठूलो अस्थिरताका बिचबाट गुज्रदै आएको छ । बहुदलीय प्रजातन्त्रको घोषणा, आर्थिक उदारीकरण, एक दशक लामो जनयुद्ध, राजाको प्रत्यक्ष शासन, गणतन्त्रको घोषणा, संविधान निर्माणका झण्डै एक दशकको राजनीतिक कलह, यसै अवधिमा तीन ओटा मधेस आन्दोलन, सप्तकोशी, भोटेकोशी लगायतका बाढी पहिरोले निम्त्याएका विपत्ति, महाभूकम्प, भारतको अमानवीय नाकाबन्दी अनि यी सबैका बिच मौलाएको चरम भ्रष्टाचार – फेहरिस्त लामो बन्दै जान्छ । राजनीतिक र प्राकृतिक उथलपुथलका पछिल्ला तीन दशकको अधिकांश समय उपरिसंरचनाको सङ्कट हल गर्नमै बिते ।