गृहमन्त्री रामबहादुर थापालाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनका विषयमा करिब दुई घण्टा ब्रिफिङ गरेका छन्।
पदभार ग्रहण गरेको तेस्रो दिन गृहमन्त्री थापा बुधबार बिहान प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए।
विहान साढे आठ बजे प्रहरी मुख्यालय पुगेका थापालाई प्रहरी महानिरीक्षक अर्यालले सचिवालयमा रहेको अरनिको हलमा प्रहरीका विषयमा जानकारी गराएका थिए। वरिष्ठ उपरिक्षकभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी उपस्थित रहेको सो ब्रिफिङमा प्रहरीलाई आवश्यक सामाग्रीदेखि संघिय प्रहरी ऐन नहुँदा कामकारवाहीमा परेका अप्ठेराका बिषयमा अर्यालले जानकारी गराएका थिए।
ब्रिफिङमा उपस्थित एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार महानिरीक्षक अर्यालले संघिय संरचनामा प्रहरी गइसके पनि आवश्यक ऐन नियमको अभावमा परेका अप्ठेराका विषयमा अवगत गराएका थिए। यस्तै विविध कारणले रोकिएको खरिद प्रक्रिया र संगठनलाई अझै मजबुत बनाउन आवश्यक रणनीतिका बिषयमा समेत जानकारी गराएको ती अधिकारीले नेपालखबरलाई बताए।
प्रहरी मुख्यालमै रहेका गृहमन्त्री थापाले प्रहरीको केन्द्रीय कमाण्ड सेन्टर र फरेन्सिक ल्याबको अवलोकन गर्ने कार्यक्रम रहेको छ। यस्तै सातवटै प्रदेशमा रहेका प्रदेश प्रहरी प्रमुखसँग गृहमन्त्री थापाले भिडियो कन्र्फेन्स गर्ने छन्। अवलोकन र निरीक्षणपछि प्रहरीको अप्रेशन हलमा गृहमन्त्री थापाले उपस्थित प्रहरी अधिकारीलाई सम्बोधनगर्ने कार्यक्रम रहेको छ।