सिरियालाई उत्तर कोरियाको रासायनिक हतियार सहयोग !

Wednesday, February 28th, 2018 | | अन्तराष्ट्रिय

उत्तरकोरियामाथि सिरियालाई रासायनिक हतियार निर्माणमा प्रयोग हुने उपकरण सहयोग गरेको आरोप लागेको छ ।

सिरियाको गुटालाई विद्रोहीको नियन्त्रणबाट मुक्त गर्ने नाममा क्लोरिन ग्यासबाट समेत आक्रमण भइरहेका बेला उत्तरकोरियामाथि यस्तो आरोप लागेको हो ।
संयुक्त राष्ट्रसंघका विज्ञहरुको अनुसन्धान प्रतिवेदनमा उत्तर कोरियाले सिरियालाई रासायनिक हतियार निर्माणमा प्रयोग हुने उपकरण तथा कच्चापदार्थ उपलब्ध गराएको अमेरिकी सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

बीबीसीले अमेरिकी सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै लेखेको समाचारमा उत्तर कोरियाले रुसमा पठाएको सामग्रीहरुमा एसिड प्रतिरोधी टाइल्स, रक्षाकवच र पाइप भएको उल्लेख छ ।

न्यूयोर्क टाइम्सले अहिलेसम्म सार्वजनिक नगरिएको यूएन रिपोर्टको हवाला दिँदै प्योङयाङ्सका मिसाइल विशेषज्ञ सिरियाको हतियार निर्माण सुविधामा संलग्न देखिएको दाबी गरेको छ ।

सिरियन फोर्सले क्लोरिन ग्यास प्रयोग गरेपछि यस्तो आरोप बाहिरिएको बीबीसीले जनाएको छ ।

उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रमका कारण अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धित रहँदै आएको छ ।

सिरियाको राजधानीको दमासकसको पूर्वी क्षेत्रमा रहेको गुटामा केही समयदेखि आक्रमण भइरहेको छ । सन् २०१३ देखि विद्रोहीको नियन्त्रणमा रहेको यो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन त्यहाँ सिरियाले रुसलगायतका देशहरुको सहयोगमा आक्रमण जारी राखेको छ ।

विद्रोहलाई दबाउने नाममा बालबालिका र सर्वसाधारणसहित सयौंको ज्यान गएपछि यो आक्रमणको अन्तर्राष्ट्रिय रुपमै आलोचना हुँदै आएको छ ।

थप अरु