आइफोन निर्माता कम्पनी एप्पलले अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको आइफोन ल्याउने भएको छ । यो वर्ष सन् २०१८ मा एप्पलले तिन नयाँ आइफोन बजारमा ल्याउनेछ । जसमा ठूलो आकारको आइफोन सँगै आइफोन एक्सको अपग्रेडेड भर्सन र कम मूल्य पर्ने एक अर्को मोडेल पनि रहनेछ ।
फ्याब्लेटप्रेमी स्मार्टफोन प्रयोगकर्ताका लागि लक्षित गर्दै आइफोनले ठूलो साइजको आइफोन ल्याउने सोँच बनाएको छ । त्यस्तै मध्यमस्तरका उपभोक्तालाई लक्षित गर्दै उसले सुपथ मूल्यको आइफोन एक्सको संस्करण ल्याउनेछ ।
आगामी सेप्टेम्बर सम्ममा एप्पलले तिन नयाँ स्मार्टफोन सार्वजनिक गर्ने सुत्रहरुले बताएका ब्लुम्बर्गले उल्लेख गरेको छ ।
निकै अपेक्षा गरिएको आइफोन एक्सले सोँचे अनुरुपको व्यापार गर्न नसकेपछि चिन्तित बनेको एप्पलले नयाँ आइफोनमार्फत आफ्नो बजार फर्काउने लक्ष्य राखेको छ । सन् २०१७ को अन्तिम त्रैमासिकमा एप्पलले ७ करोड ७३ लाख आइफोन बेच्न सफल भएको थियो जुन विश्लेषकहरुको प्रक्षेपणभन्दा कम हो । यस अवधिमा एप्पलले ८ करोड आइफोन बेच्ने प्रक्षेपण गरिएको थियो ।
धेरै उपभाक्ताले आइफोन एक्सको डिजाइन तथा फिचर्स मन पारेपनि यसको चर्को मूल्यका कारण अन्य स्मार्टफोन किन्न बाध्य भएको अनुमान विश्लेषकहरुको छ । त्यसैले एप्पलले आगामी आइफोनहरु मध्ये एउटा सस्तो संस्करण पनि बजारमा ल्याउने तयारी गरेको हो ।