औलो जोखिम बढ्दो

Wednesday, February 28th, 2018 | | स्वास्थ्य

जिल्लाका विभिन्न स्थानमा मलेरिया (औलो) देखिएपछि नियन्त्रण प्रयास थालिएको छ । स्थानीय औलोको एक जना पनि बिरामी भेटिए जिल्ला जनस्वास्थ्यका दृष्टिकोणले निकै जोखिम मानिन्छ ।
औलोरोगी भेटिएको स्थानबाट लामखुट्टेका माध्यमले तीन किलोमिटरसम्म पनि रोग फैलन सक्ने भएकाले अति जोखिम मानिएको हो । लामखुट्टे तीन किलोमिटर दूरीसम्म उड्न सक्छ ।
साउनयता बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानी, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, नरैनापुर गाउँपालिकालगायत क्षेत्रमा स्थानीय औलोका ४५ बिरामी भेटिएका छन् । सन् २०२५ सम्म औलोरोगीको संख्या शून्यमा झार्ने सरकारी लक्ष्य छ ।

पछिल्लोपल्ट सन् २००६ मा बाँकेको बैजापुर क्षेत्रमा औलो महामारी फैलिदा २८ जनाको ज्यान गएको थियो । यहाँ भारतबाट संक्रमित बिरामी पनि भेटिएका छन् । कामको सिलसिलामा भारत पुगेका उनीहरू औलो लागेपछि घर फर्केका हुन् ।

‘स्थानीय औलो एक जनामा देखिएपछि निकै खतरा मानिन्छ । अन्य व्यक्तिहरूमा पनि सार्न सक्ने जोखिम उस्तै हुन्छ,’ जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग नियन्त्रण फोकल पर्सन दुर्गा गौतमले भनिन्, ‘त्यसैले बिरामी फेला परेका स्थानमा नियन्त्रण प्रयास गरिरहेका छौँ ।’ उनका अनुसार औलो नियन्त्रणका लागि झुल वितरण गरिएको छ । बैजनाथ गाउँपालिका १ का २ हजार ७ सय ५२ स्थानीयलाई झुल वितरण गरिएको हो ।

‘लामखुट्टेबाट जोगिने भरपर्दो उपाय झुल प्रयोग हो । त्यसैलेऔलो देखिएको स्थानका स्वस्थ व्यक्तिमा रोग सर्न नदिन झुल वितरण गरेका छौँ,’ गौतमलेभनिन्, ‘बढी लामखुट्टे भएको स्थानमा विषादी पनि छर्दैआएका छौँ ।’

यसअघि नरैनापुर गाउँपालिका झुल वितरण गरिएको थियो । जिल्ला जनस्वास्थ्यले बिरामी फेला परेका घरबाट ५० मिटर आसपासका व्यक्तिको रगत परीक्षण र निगरानी गर्दै आएको छ । लामखुट्टेले स्वस्थ व्यक्तिमा रोग सार्न सक्ने भएकाले सूक्ष्म तरिकाले निगरानी गरिँदै आएको हो ।रोगी भेटिएको क्षेत्रमा स्वास्थ्यकर्मीको टोली नै खटिने गरेको छ । रगत परीक्षण गरी १५ मिनेटमै औलो रोग लागे/नलागेको प्रविधि जिल्ला जनस्वास्थ्यसँग छ ।

बाढी प्रभावित क्षेत्रका सर्वसाधारण पनि औलोको उच्च जोखिममा पर्दै आएका छन् । राप्तीपारिको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका दर्जनौं गाउँ बर्खामा डुबानमा पर्छन् । खुला सीमामा स्वास्थ्य जाँचको व्यवस्था नहुँदा भारतबाट पनि औलो भित्रिने गरेको हो । नियन्त्रणका लागि निरन्तर अभियान सञ्चालन गरिए पनि यहाँ औलोका बिरामी भेटिने क्रम जारी छ ।

थप अरु