विगत डेढ बर्षदेखि गिरावट देखिएको मलेसियाली मुद्रा ‘रिंगिट’ मा क्रमिक सुधार हुन थालेको छ । पछिल्ला ३ महिनायता रिंगिटको दरभाउमा क्रमिक सुधार आउन थालेपछि मलेसियामा कार्यरत नेपालीहरुमा लाभान्वित भएका छन् ।
स्वदेशमा बढ्दो महंगी र मलेसियामा डेढ वर्ष अघिदेखि आएको गिरावटले निरास बनेका नेपालीहरु अहिले रिंगिटको भाउमा सुधार आएपछि केही खुशी र आशावादी देखिन्छन् ।
मलेसियाली मूद्राको क्रमिक सुधारले यहाँको नेपाली श्रमबजारमा थप आशाहरु छाएका छन् ।
गत वर्ष मलेसियाबाट नेपाल रकम पठाउँदा बैंक एवं रेमिटान्स कम्पनीहरुले प्रति रिंगिट २३.५० रुपैयाँमा कारोबार हुने गरेकोमा हाल २६.५० रुपैयाँको हाराहारीमा कारोबार हुने गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकले प्रति रिंगिट विक्री दर २६.५१ रुपैयाँ तोकेको थियो ।
मलेसियामा वैध तथा अवैध अवस्थामा गरी अनुमानित ५ लाखभन्दा बढी नेपाली कार्यरत छन् । झण्डै १ वर्ष रिंगिटको सटही दरभाउमा आएको भारी गिरावटका कारण यसअघि उनीहरु मर्कामा परेका थिए ।
यसअघि सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनसँगै डलर मजबुत हुँदै आएपछि रिंगिटको भाउ कमजोर हुन पुगेको थियो । त्यसताका विश्वबजारमा पेट्रोलियम पदार्थ एवं तेलको मूल्यमा समेत गिरावट आएको थियो । त्यसपछि रिंगिटमा गिरावट आएको थियो ।
‘दुई वर्षअघि एक रिंगिटको २८ रुपैयाँ हाराहारीको दरभाउले पैसा पठाएको थिएँ,’ रकम नेपाल पठाएपछि कोतारायस्थित रेमिटान्स कम्पनी परिसरमा भेटिएका सोतीपसल, लम्जुङका सन्दीप अधिकारीले भने, ‘अब झन् बढेमा राम्रो हुन्थ्यो । तर, धेरै नबढे पनि अहिलेको धेरै नघटे हुन्थ्यो । अहिलेको रिंगिटको भाउलाई पहिलेभन्दा त राम्रै मान्नुपर्दछ ।’
मलेसियाली मूद्रामा अझै बढी सुधार आउनसक्ने आंकलन गरिएको छ । पछिल्ला महिनाको रिंगिटमा आएको सुधारले लाखौं आप्रवासी कामदारहरु लाभान्वित भएको सरोकारवालाहरु बताउँछन् ।
यसअघि रिंगिटमा गिरावटका कारण कामका लागि मलेसिया आउने नेपालीहरु घट्ने आंकलन गरिएको थियो । तर, खाडी मुलुकहरुमा खासगरी कतारमाथिको नाकाबन्दी र मलेसियामा रिंगिटमा आएको क्रमिक सुधारपछि यसतर्फ आउने नेपाली पनि बढेका छन् ।
वैदेशिक रोजगार विभागको एक तथ्यांक अनुसार पहिलो आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ३१ हजार २ सय ७७ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका थिए । यो अवधिमा कुल ८४ हजार ७ सय ७६ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये करिब ३६ प्रतिशतले मलेसियाका लागि श्रम स्वीकृति लिए ।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य रहेको मलेसियामा प्रत्येक नेपाली कामदारले न्युनतम मासिक १ हजार रिंगिट कमाई गर्छन् । होस्टलका अतिरिक्त शुल्क, खाना लगायतका खर्चपछि एकजना साधारण कामदारले मासिक ५ सय देखि ८ सय रिंगिटसम्म बचत गर्छन् । तर कतिपयले ओभरटाईम काम गर्न अवसर पाएको खण्डमा मासिक ३ हजार रिंगिटसम्म कमाई गर्न सक्छन् ।
यहाँको सेवाक्षेत्रमा खासगरी सुरक्षागार्ड, उत्पादन र निर्माण क्षेत्रका अन्य कतिपय कम्पनीमा बढीजसो ओभरटाईम मिल्ने हुँदा र तुलनात्मक रुपमा बढी कमाइ हुने हुँदा यी क्षेत्र आकर्षक मानिन्छन् । यी क्षेत्रमा कार्यरत नेपालीले मासिक एकहजारदेखि ३ हजार रिंगिटभन्दा बढीसम्म कमाई गर्छन् ।
नेपाल राष्ट्र बैंकको एक तथ्यांकअनुसार गत बर्ष दक्षिण पूर्वी एसियाली मुलुकहरुबाट मात्रै बार्षिक झण्डै डेढ खर्ब रुपैंया रेमिटान्स भित्रीन्छ । उक्त रकमको ठूलो हिस्सा मलेसियाबाटै भित्रीने गरेको छ । यद्यपी चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपाल भित्रिने रेमिटेन्स करिब ०.८९ प्रतिशतले घटेको सरकारी तथ्यांकले देखाउँछ ।
मलेसियाले यसै वर्षदेखि लागू हुने गरी कामदारको लेभी रकम रोजगारदाता कम्पनीसँग लिने नयाँ प्रावधानको घोषणा गरेको थियो । यो प्रावधान पूर्ण रुपमा लागू हुनसके मलेसियाबाट नेपाल भित्रने रेमिटान्समा पनि बृद्धि हुनसक्ने विश्वास गरिएको छ, तर कतिपय रोजगारदाताले इमान्दारीसाथ नयाँ प्रावधानको अबलम्बन गर्नेमा भने आशंका कायमै छ ।