साउदी अरबका राजाले सैन्य नेतृत्वमा व्यापक फेरबदल गर्दै सेना प्रमुखसहित सेनाका कमाण्डरहरु फेरबदल गरेका छन् ।
साउदी राजा सलमानले थल सेना र वायुसेनाका प्रमुखहरु पनि परिवर्तन गरेका हुन् ।
साउदी अरेबियाको सरकारी साउदी प्रेस एजेन्सी (एसपीए) ले यसबारे समाचार प्रकाशित गरे पनि के कारणले फेरबदल गरिएको भन्ने खुलाइएको छैन ।
यमनमा विद्रोहीहरुसँग साउदी नेतृत्वको गठबन्धनले युद्ध लडिरहेको तीन वर्ष पूरा हुनलाग्दा यस्तो फेरबदल गरिएको हो ।
गृहमन्त्रीसमेत रहेका युवराज मोहमद बिन सलमान यो फेरबदलको पछाडि रहेको अनुमान गरिएको छ ।
गत वर्ष युवराजले भ्रष्टचारविरुद्धको अभियान भन्दै दर्जनौँ राजकुमार, मन्त्री र अर्बपतिहरुलाई रियादको पाँच तारे रिट्ज कार्लटन होटलमा बन्धक बनाएका थिए ।
राजा सलमानको नेतृत्वमा साउदीका विभिन्न संस्थाहरुमा व्यापक फेरबदल गरिएको छ, जसको पछाडि छन् युवराज मोहमद विन सलमान ।
को बाहिरिए, को आए ?
सेना प्रमुख जनरल अब्दुल रहमान बिन सालेह अल बुनयान बर्खास्त परेका छन् । बर्खास्तीमा परेकाहरुको स्थानमा अन्य सैन्य अधिकारीहरुलाई बढुवा गरिसकिएको छ ।
त्यस्तै, विभिन्न राजनीतिक नियुक्तिहरु पनि गरिएको छ । जसमा श्रम र सामाजिक विकास उपमन्त्रीको रुपमा महिलालाई अघि सारिएको छ । तामादार बिन्त युसेफ अल रहमालाई उपमन्त्री बनाइएको छ ।
राजकुमार तुर्की बिन तलाललाई असिर प्रान्तको डेप्युटी गर्भनर बनाइएको छ । उनका दाई अर्बपति राजकुमार अलवालिद बिन तलाललाई भ्रष्टाचारविरुद्धको अभियानमा हिरासतमा राखेर दुई महिनापछि रिहा गरिएको थियो ।