विमानस्थल निर्माणमा ‘एडीबी’ को असन्तुष्टि

Tuesday, February 27th, 2018 | | अर्थ ⁄ वाणिज्य

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र यसअघिको स्थानीय ठेकेदार कम्पनीबीचको रकम लेनदेन र विवाद मिलाउन पहल जारी छ ।
तर, काममा ढिलाइ भएको जनाउँदै एसियाली विकास बैंक (एडीबी) ले दिएको सहयोग रोक्ने चेतावनीमा अझै पुनर्मूल्यांकन गरिएको छैन ।

एडीबीले करिब डेढ महिना चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण रोक्ने चेतावनी पत्र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो । चिनियाँ कम्पनीले ग्लोबल टेन्डरमार्फत सन् २०१७ डिसेम्बर ३१ सम्म काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । २ वर्षमा सक्ने भन्दै सन् २०१५ को जनवरीमा तामझामसहित शिलान्यास गरी काम सुरु गरेको थियो ।

मधेस आन्दोलन र भूकम्पलगायत कारण देखाउँदै कम्पनीलाई थप ६ महिना अर्थात् जुनसम्म म्याद थपिएको छ । तर कम्पनीले जनवरीयता गरेको कामको रकम दिएको छैन । गत शुक्रबार एडीबीको काठमाडौंमा भएको ‘रिभ्यु मिटिङ’ मा पनि विमानस्थलको प्रगति सन्तोषजनक नभएको निष्कर्ष निकालिएको छ ।

यसले विमानस्थल निर्माणको काम अन्योलमा परेको छ । कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको विमानस्थलमा एडीबीको ५४ करोड अनुदान छ । बाँकी ४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । रकमका हिसाबले अहिलेसम्म २ अर्ब खर्च भएको छ ।

यसबाट करिब ३७ प्रतिशत काम सकिएको छ । एडीबीले अहिलेसम्म एक अर्ब ५० करोड भुक्तानी गरिसकेको विमानस्थल निर्माण आयोजना निर्देशक ओम शर्माले बताए ।

प्राधिकरणले भने कामले गति लिएकाले एडीबीले ऋण र अनुदान नदिए पनि राष्ट्रिय गौरवको आयोजना अलपत्र हुन नदिने बताएको छ । यस्तोमा आफ्नै स्रोतबाट विमानस्थल निर्माणको काम अघि बढाउने प्राधिकरणको तयारी छ । ‘अझै औपचारिक निर्णय भएको छैन,’ प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले कान्तिपुरसित भने, ‘एडीबीले हात झिकी हाले पनि विमानस्थल निर्माणको काम रोकिँदैन । प्राधिकरणले आन्तरिक स्रोतबाट विमानस्थल निर्माणको काम अघि बढाउनेछ ।’ गौतम बुद्ध विमानस्थल निर्माणमा भएको ढिलाइले देशको एकमात्र त्रिभुवन अन्तर्राट्रिय विमानस्थलको रनवे सुधार योजनासमेत अलपत्र परेको छ । यसकै कारण पनि प्राधिकरणले निर्माण नरोकिने बताएको हो ।

आयोजना निर्देशक शर्माले एडीबीले लगानी नरोक्ने संकेत गरेको बताए । यसको उदाहरण एडीबीले जनवरी र फेब्रुअरीमा भएका कामका बिलहरू पठाउन आग्रह गरेको उनले दाबी गरे । त्यसअनुसार आयोजनाले बिलहरू पठाउने तयारी थालेको छ । ‘अघिल्लो साता राजधानीमा भएको छलफलमा व्यापक असन्तुष्टि जनाइयो,’ निर्देशक शर्माले भने, ‘पछिल्लो समय काम लयमा फर्किएकाले निर्णय पुनर्मूल्यांकन हुने संकेतमिलेको छ ।’

एडीबीको वार्षिक समीक्षा बैठकले निर्माणाधीन भैरहवा विमानस्थलको आगामी मार्च १५ तारिखमा स्थलगत अवलोकन गर्ने निर्णय गरेको छ । स्थलगत अवलोकन गर्ने र अवलोकनपश्चात थप लगानी गर्ने या नगर्ने भन्ने निर्णय गर्ने निर्देशक शर्माले बताए । ‘चिनियाँ व्यवस्थापक फेरेपछि भदौयता काममा सुधार आएको छ,’ उनले भने, ‘काममा आएको सुधारले पनि आयोजना रद्द गर्दैन ।’

प्राधिकरण स्रोतका अनुसार हाल ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट एडीबीको कालोसूचीमा परेको ठेकेदार कम्पनी हो । काममा ढिलाइभन्दा कम्पनीको अविश्वासका कारण पनि एडीबीले तत्काल निर्माण सहयोग रोक्ने चेतावनी पुनर्मूल्यांकन नगरेको हो । ‘चिनियाँ कम्पनीलाई कामप्रति जिम्मेवार बनाउन चेतावनी दिएको छ,’ स्रोतले भन्यो, ‘एडीबीले सम्झौता रद्द गर्दैन ।’

अहिले विमानस्थलमा धावनमार्गको तयारीका लागि सवबेसको काम भइरहेको छ । सववेसलगत्तै बेस निर्माणका लागि पक्की गर्ने काम सुरु गरिनेछ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावरलगायतका संरचना बनिरहेका छन् । आयोजनाको लक्ष्यअनुसार थपिएको समय जुनसम्ममा अन्तर्राष्ट्रिय टर्मिनल भवनको छानोबाहेकको काम सकिनेछ ।

धावनमार्गमा पिचबाहेक बेस र सवबेस निर्माणको काम पूरा हुनेछ । आयोजना बनाउँदा बेसको काममा कम प्रतिशत राखिएकाले अबको काम छिटो हुनेछ । ‘यो वर्ष बचेको यसपछिको समयमा धावनमार्ग पिच गर्ने, टर्मिनल भवनमा छानो हाल्ने र काम सकिनेछ । अर्को वर्ष इक्युवमेन्ट जडान गरिनेछ,’ आयोजना प्रमुख शर्माले भने, ‘सन् २०१९ भित्र परीक्षण उडान नै गराउने लक्ष्यसहित काम अघि बढेको छ ।’ २०२१ सालमा स्थापित यो विमानस्थल सुरुमा ७९ बिघामा फैलिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल बन्दा यसको जग्गा ७ सय ८७ बिघा भएको छ । विमानस्थलमा दैनिक १६ आन्तरिक र ६ वटा अन्तर्राष्ट्रिय विमान उड्नेछन् ।

थप अरु