उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको बताएको छ। शीतकालीन ओलिम्पिक समापनका लागि दक्षिण पुगेको उत्तर कोरियाली प्रतिनिधिमण्डलले वाशिङटनसँग संवादका लागि इच्छा प्रकट गरेको हो।
प्रतिनिधिमण्डलको नेतृत्व गरेका किम योङ कोलले उत्तर अमेरिकासँग शान्ति वार्ता खोल्न चाइरहेको बताएका हुन्। उनले नेता किम जोङ उनल त्यसका लागि तयार रहेको पनि बताए।
तर, अमेरिकाले भने उत्तरको त्यो चाहानालाई शर्तसहित स्वीकार्ने बताएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उत्तर कोरियासँग हुने कुनै पनि संवादले उसको पारमाणविक अस्त्र कार्यक्रम अन्त्य गर्नुपर्ने शर्त राखेको छ।
वार्ताका लागि निश्शस्त्रीकरण शर्त रहेको बताउँदै अमेरिकाले भनेको छ– ‘उत्तर कोरियाले निश्शस्त्रीकरणको बाटो अवलम्बन गरेमा उसका लागि ‘उज्यालो बाटो’ छ।’
यसअघि उत्तर कोरियाली विदेशमन्त्रीले शीतकालीन ओलिम्पिक्सका क्रममा दुई कोरियाले गरेको सहकार्यको प्रशंसा गरेका थिए। तर अमरिकाले लगाएको पछिल्लो प्रतिबन्धलाई युद्धका गतिविधि भन्दै उनले निन्दा गरे।
शीतकालीन ओलिम्पिक्समार्फत उत्तर कोरियाले दक्षिण कोरियासँगको आफ्नो सम्बन्ध सुधार गर्ने प्रयासहरू अघि बढाएको देखिन्छ।
तर संयुक्त राज्य अमेरिकासँग भने त्यही तह र भावनामा उत्तर कोरियाले सम्बन्ध कायम गर्न सकेन।