तरकारीमा विषादी : स्वास्थ्यमा मन्दविष

Thursday, February 22nd, 2018 | | स्वास्थ्य

गतवर्ष ५ सय ७५ मेट्रिक टन विषादी मुलुक भित्रियो । यसअघि २०७१ र ७२ सालमा क्रमश ३ सय १० र ४ सय ५० मेट्रिक टन विषादी निर्यात भएको थियो । कृषि विभाग अन्तर्गतको बाली संरक्षण निर्देशनालयको यस तथ्याङ्कले तरकारी तथा फलफूलमा विषादीको प्रयोग गर्ने क्रम वर्षेनी बढ्दै गएको पुष्टि गर्छ । यसरी भित्रिएका विषादीमध्ये ८० प्रतिशत तरकारीमा मात्रै प्रयोग हुने गरेको छ ।
विशेष गरी विषादी कृषिबालीको संरक्षण गर्न प्रयोग गरिने भएपनि बढी मुनाफा र जनचेतनाको अभाव तथा हेलचक्र्याईका कारण यसबाट विभिन्न स्वास्थ्य समस्या निम्तने गर्छ । विषादी प्रयोग गरिएका तरकारी तथा फलफूलको प्रयोगबाट स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर पर्ने डा. अरुणा उप्रेती बताउनुहुन्छ । “तत्कालीन असर भनेको बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, ज्वरो आउने वाकवाकी लाग्ने, पेट दुख्ने र मडारिने जस्ता समस्या हुन्छ । दीर्घकालीन असर भनेको यसले शरीरको भित्रि अंगमा आक्रमण गर्छ । गर्भवतीमा र जन्मिने शिशुलाई समेत असर गर्ने हुन्छ ” डा. उप्रेतीले भन्नुभयो । यति मात्र नभई क्यान्सर पनि हुन सक्ने खतरा रहेको डा. उप्रेतीले जानकारी दिनुभयो । विषादीले मानव स्वास्थ्यमा मन्दविषको काम गरिरहेको चिकित्सक बताउँछन् । विषादी प्रयोग गरिएका तरकारी तथा फलफूलको प्रयोगले उपभोक्तालाई मात्र नभई स्वयम् कृषक समेत यसको खतरामा रहने निर्देशनालयका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले बताउनुभयो । विषादी हालिएको तरकारी खाँदा भन्दा पनि तरकारीमा यसको प्रयोग गर्ने क्रममा कृषकहरुले सावधानी अपनाउन ढकालले सुझाउनुभयो । विकसित राष्ट्रहरुमा प्रति हेक्टर १६/१७ किलो विषादीको प्रयोग गरिन्छ । नेपालमा प्रति हेक्टर ३ सय ९६ ग्राम विषादीको प्रयोग गरिदैं आएको छ । तर बढी समस्या यहाँ नै पाइएको निर्देशनालयले जनाएको छ । “कृषकले कति मात्रामा विषादीको प्रयोग गर्‍यो, यसको अन्तराल र पर्खने समय सबैभन्दा महत्वपूर्ण प्रक्रिया हो”, ढकाल भन्नुहुन्छ, “विषादी छरेपछि पर्खने अवधिलाई पालन गर्नुपर्छ । यही कुरा बुझ्नु र बुझाउनुपर्छ । यदि कृषकले यसलाई बुझेर विषादीको प्रयोग गरे यसबाट हुने नकारात्क असरलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ नभए यसले स्वास्थ्यलाई असर गर्छ ।” काठमाडौंमा २०७१ असार देखि तरकारीमा विषादीको मात्रा परीक्षण गर्न थालिएको हो । सुरुमा परीक्षण गरिएकामध्ये १३ प्रतिशत तरकारी खान अयोग्य भेटिएकोमा अहिले त्यस्तो नरहेको ढकालको दाबी छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म भिण्डी, अकबरे खुर्सानी र सिमिमा मापदण्ड भन्दा बढी विषादीको अवशेष भेटिएको छ । ३५ प्रतिशत सम्म रुकावट प्रतिशत भएका तरकारी खान मिल्ने तथा ४५ प्रतिशत नाघेका तरकारी स्वास्थ्यका लागि घातक मानिन्छ । विषादी प्रयोग गरे/नगरेको नाङ्गो आँखाले पत्ता लगाउन नसकिने भन्दै निर्देशनालयका कार्यक्रम निर्देशक तरकारीको प्रयोगमा यसरी सचेत रहन आग्रह गर्नुहुन्छ । उपभोक्तालाई शंका लागेमा घरमा सफा पानीमा तीन पटक सम्म पखाल्ने, नुन पानीमा तरकारी तथा फलफूल डुबाई धोएर खाएमा ६० देखि ७० प्रतिशत सम्मको विषादी जाने गर्छ । अझ पनि शंका लागेमा तरकारी या फलफुको बाहिरको बोक्रा फालेर खाएका ७० देखि ८० प्रतिशत सम्मको विषादीको प्रभाव हटेर जान्छ । कृषिमा व्यवसायीकरण हुने क्रम बढेसँगै बढ्दो विषादीको प्रयोगले कृषक र उपभोक्ता दुवैलाई असर त गर्छ नै यसले माटोको उर्वरा शक्ति र वातावरणमा समेत प्रत्यक्ष प्रभाव पार्छ । बढी मुनाफा कमाउने लोभमा विषादीको अत्याधिक प्रयोगले जमिन र मानव स्वास्थ्यमा पार्ने असरबारे हामी सबै सचेत हुनैपर्छ ।