डाक्टर कुटिएपछि डोटी अस्पताल ठप्प

Thursday, February 22nd, 2018 | | स्वास्थ्य

चिकित्सक कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै स्वास्थ्यकर्मीले डोटीस्थित जिल्ला अस्पतालको सेवा दुई दिनदेखि ठप्प पारेका छन् । काम गर्ने वातावरण नरहेको भन्दै मेडिकल सुपरिटेन्डेन्टसहित स्वास्थ्यकर्मीले जिल्ला छाडेका छन् । आकस्मिकबाहेक सबै सेवा ठप्प हुँदा बिरामी मर्कामा छन् ।
उपचार गराउन आएकी स्थानीय महिलासँग भएको सामान्य विवादलाई लिएर जिल्ला अस्पतालमा कार्यरत डा. जितेन्द्र सिंहलाई स्थानीय युवाले आइतबार दिउँसो डेरामै पुगेर निर्घात कुटपिट गरेका थिए । दिपायल सिलगढी नगरपालिका–७ का विजयसिंह विष्ट, टेकबहादुर विष्ट, हिक्मत विष्ट र वडा नम्बर ६ का अरुण महतले कुटपिट गरेको आरोप छ ।

अस्पतालमा काजमा आएका डा. सिंहको दाँत भाँचिनुका साथै टाउकोमा गम्भीर चोट लागेको छ । उनी एउटा हात राम्रोसँग चलाउन पनि सकिरहेका छैनन् । कोठाको ढोका फोडेर सिंहमाथि आक्रमण गरिएको थियो । कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीले ती युवाविरुद्ध सार्वजनिक मुद्दा दायर गरेका छन् । आरोपी चारै युवालाई प्रहरीले हिरासतमा राखेको छ । आइतबार नै पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमबार एक साताको म्याद थपेर थुनामा राखेको छ ।

कुटपिटमा संलग्न भएकाहरूलाई कारबाही नभएसम्म आन्दोलन फिर्ता नलिने स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट डा.दिवस पराजुली, एमजीडीपी डा. गिरीश अवस्थी, पीडित डा. सिंह, जोरायल प्राथमिक स्वास्थ्य केन्द्रका डा.राजकुमार विश्वकर्मालगायतले आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षाको माग गरेका छन् । उनीहरूले भयरहित वातावरण नबनेसम्म जिल्ला बस्ननसकिने भन्दै मंगलबार जिल्ला छाडेका छन् ।

डा.अवस्थीले पनि तनावपूर्ण वातावरणमा आफू पनि बस्न नसक्ने भएकाले जिल्ला छोड्ने तयारीमा रहेको बताए । नेपाल मेडिकल एसोसिएसन र सरकारी चिकित्सक संघले पनि स्वास्थ्यकर्मीले असुरक्षित भएर काम गर्नुपरेकाले आरोपीलाई कारबाहीका लागि प्रशासनलाई विज्ञप्तिमार्फत दबाब दिएका छन् ।
चिकित्सक कुटपिट घटनाको चौतर्फी विरोध भएको छ । माफी मगाएर घटनालाई मिलाउन राजनीतिक तहबाट दबाबआए पनि आफूहरू कानुनी कारबाहीको पक्षमा रहेको स्वास्थ्यकर्मीहरूले बताए ।

दिपायल सिलगढी नगरपालिका–७ की वासुदेवी विष्ट आइतबार दिउँसो उपचारका लागि जिल्ला अस्पताल पुगेकी थिइन् । डा. सिंहसँग उनको सामान्य विवाद भएको थियो । ‘डेढ बजेतिर उपचार क्रममा विवाद भएको थियो । बिरामीका आफन्त र डा. सिंहबीच हातपातसमेत भयो,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले भने, ‘तीन बजेतिर एउटा समूहले उनको डेरामै गएर निर्घात कुटपिट गर्‍यो ।’ विष्टले भने भिडियो एक्सरे गर्ने क्रममा डा. सिंहले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।
डा.सिंहले महिला र उनका आफन्तले बच्नका लागि दुव्र्यवहारको आरोप लगाएको बताए । ‘बिरामीको लक्षण हेर्दा पत्थरी जस्तो देखिएकाले भिडियो एक्सरेका लागि बिल काट्न लगाइएको थियो,’ डा. सिंहले भने, ‘आमा नाता पर्ने उमेरकी महिलालाई मैले दुव्र्यवहार गर्ने कुरा कतिसम्म पत्याउन सकिन्छ ? सामान्य विवादलाई लिएर कुटपिटमा उत्रिए ।’