सर्पदंशबाट हुने मृत्युदर घटाउन विश्व स्वास्थ्य संगठनको विज्ञ टोलीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. सञ्जीव शर्मा सदस्यका रूपमा नियुक्त भएका छन् ।
एक वर्षका लागि सर्पदंशसम्बन्धी अनुसन्धान र क्षति कम गर्न रणनीति बनाउने विज्ञ टोलीको सदस्यका
रूपमा औपचारिक नियक्तिपत्र प्राप्त गरेपछि मंगलबार उनले भने, ‘अरू महामारी जस्तै सर्पदंशबाट बर्सेनि हजारौं मानिस मर्ने गरेका छन् । सर्पदंशबाट हुने जोखिम कम गर्न विज्ञटोलीले रणनीति बनाएर विश्व स्वास्थ्य संगठनमा बुझाउँछौं ।’
पहिलो चरणमा विश्व स्वास्थ्य संगठनले नेपालका शर्मासहित अन्य मुलुकका आठजनालाई विज्ञका रूपमा नियुक्त गरेको हो । डा. शर्माका अनुसार नेपालमा बर्सेनि २ हजारभन्दा बढी मानिस विषालु सर्पको टोकाइबाट मर्ने गरेका छन् । उनले भने, ‘बेलैमा उपचार नपाएर मर्नेमध्ये ग्रामीण क्षेत्रका ८० प्रतिशत रहेका छन् ।’ उनका अनुसार नेपालमा तराई, पहाड र हिमाली क्षेत्रमा गोमन, करेत जस्ता १७ किसिमका विषालु सर्प पाइएका छन् ।
सर्पदंश र सर्पसम्बन्धी विश्वका सातजना विज्ञ टोलीको नेतृत्व गरेर डा. शर्माले गत वर्ष ‘नेपालका विषालु सर्पहरू’ पुस्तक प्रकाशन गरेका छन् । उनका अनुसार राजगोमनबाहेक अरू सर्पले टोकेमा तत्काल उपचार गर्न सके शतप्रतिशत बचाउन सकिन्छ । तर गाउँघरमा सर्पले टोकेमा धामी–झाँक्री, झारमौरो लगाउने, आत्तिने प्रवृत्तिले अस्पताल आइनपुगी धेरैको ज्यानगुम्ने गरेको छ । सर्पले टोकेमा हाल विश्वमा एन्टिभेनममात्र प्रयोगमा छ । नेपालमा उक्त औषधि सरकारलेतोकिएको स्वास्थ्य केन्द्रमा उपलब्धगराउँदै आएको छ ।