विश्व क्रिकेट लिगको विशेषता भनेकै प्रत्येक खेलसँगै बन्ने समीकरण हो । अझ राउन्ड रोबिनको खेल अन्त्यमा पुग्दा समीकरणको रोमाञ्च उत्कर्षमा पुग्छ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तिम चरणमा पुग्दा नेपाललाई भने समीकरणमा जितबाहेक अर्को विकल्प छैन ।
नेपालले राउन्ड रोबिन लिगको अन्तिम चरणको खेलमा बुधबार क्यानाडाको सामना गर्नेछ । जितेमा नेपाल अर्को महिना जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्नेछ । नेपाल जस्तै क्यानाडासँग पनि जितबाहेक अर्को विकल्प छैन । दुवै टोलीसँग ४ खेलमा समान ६ अंक छ ।
मंगलबार आयोजक नामिबियाले अर्को अफ्रिकी राष्ट्र केन्याविरुद्ध विजय हात पारेपछि नेपाल अंकतालिकामा तेस्रो स्थानमा झरेको छ । नामिबियासँग पनि ६ अंक छ । यद्यपि टोली राम्रो रनरेटका कारण दोस्रो स्थानमा छ । नामिबियाले बुधबार हुने अर्को खेलमा यूएईको सामना गर्नेछ । विजय हात पार्ने टोली फाइनल पुग्नेछ । नेपाल र क्यानाडाबीचको खेल ‘टाइ’ वा वर्षाले हुन नदिएमा मात्र यूएई अन्तिम खेल जिते पनि फाइनल पुग्ने छैन । त्यसैले नामिबिया र यूएईबीचको खेल पनि नेपाल र क्यानाडाको खेलजस्तै सेमिफाइनलसरह बन्नेछ ।
सन् २०१९ को विश्वकप छनोटको आधार रहेको डिभिजन २ का शीर्ष दुई टोली विश्वकप छनोटमा पुग्ने छन् । सोझो हिसाबमा भन्ने हो भने नेपाल र क्यानाडा तथा नामिबिया र यूएईबीचको खेलको विजेता टोली फाइनल पुग्दै विश्वकप छनोटमा छानिने छन् । पाँचपल्ट विश्वकप खेलिसकेको केन्या पहिलो ४ खेल नै हारेर रेलिगेसनमा परिसकेको छ । नेपालसँगको खेलमात्र जित्न सकेको ओमान पनि रेलिगेसनमा पर्ने निश्चितजस्तै छ ।
‘क्यानाडासँगको खेल हाम्रा लागि फाइनल हो र हामी राम्रो खेल खेलेर उनीहरूलाई पराजित गर्नेछौं,’ नेपालका प्रशिक्षक जगत टमाटाले नामिबियाबाट भने, ‘क्यानाडाको टिम ठिकै छ तर हामीलाई युवा खेलाडीले टिममा नयाँ जोश दिएका छन् । क्यानाडाको टिम कस्तो भन्दा पनि हामी आफ्नो उत्कृष्ट दिने प्रयास गर्नेछौं ।’
टमाटाको यो भनाइ युवा खेलाडी आरिफ शेख र रोहित पौडेलले केन्यासँग खेलेको इनिङ्सलक्षित थियो । नेपालको ८२ रनमा ५ विकेट गुमाइसकेको अवस्थामा आरिफ र रोहितले छैटौं विकेटमा ८७ रनको साझेदारी गरेपछि नेपालले केन्यामाथि अन्तिम बलमा पुगेर ३ विकेटको विजय हात पारेको थियो । आरिफ ४७ र रोहित ४२ रन बनाई विजय नजिक पुगेर आउट भएका थिए । १९ वर्षे रोहितले नामिबियाबाटै राष्ट्रिय टोलीमा‘डेब्यू’ गरेका हुन् ।
वान्डर्सको फ्रेस विकेटमा खेल्ने हुनाले नेपालका प्रमुख ब्याट्सम्यानले क्यानाडासँग जिम्मेवारीपूर्ण इनिङ्स खेल्ने आस टमाटाको छ । उपकप्तान ज्ञानेन्द्र मल्लले ४ खेलमा ३६ रनमात्र बनाउन सकेका छन् । अर्का आसलाग्दा खेलाडी दीपेन्द्रसिंह ऐरीले ३१ रनमात्र बनाउन सकेका छन् । दिलीप नाथले पहिलो ३ खेलमा २१ रनमात्र बनाउन सकेपछि उनको स्थानमा अनिल शाहलाई ओपनर र ज्ञानेन्द्रलाई विकेटकिपरखेलाइएको थियो ।
नेपालको त्यो प्रयोग पनि असफल भएको थियो । ‘डेब्यू’ गरेका अनिल १ बलमात्र खेलेर आउट भए । कामचलाउ विकेटकिपरको भूमिकामा ग्लोभ्स लगाएका ज्ञानेन्द्रले दुई क्याच छाड्न पुगे । उनले पहिलो बलमै लेग साइडको क्याच लिन नसक्दा इरफान करिमले जीवनदान पाएका थिए । त्यसपछि करिमले केन्याबाट सर्वाधिक ४२ रन बनाएका थिए ।
‘यहाँको विकेट सोचेभन्दा बाउन्स छ र बल स्वीङ भइरहेको छ, हाम्रा प्रमुख ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्नुको प्रमुख एउटा कारण यो पनि हो । क्यानाडासँग नेपालले खेल्ने खेल नयाँ विकेटमा खेलाइँदै छ, त्यसैले उनीहरूले राम्रो खेल्ने आस मैले लिएको छु,’ प्रशिक्षक टमाटाले ज्ञानेन्द्रलाई नै विकेटकिपरमा राख्ने वा दिलीपलाई फर्काउने बारेमा स्पष्ट भइनसकेको जनाए । तर उनले टिममा परिवर्तन हुनसक्ने संकेत गरे ।
नेपालबाट प्रतियोगितामा कप्तान पारस खड्काले सर्वाधिक १ सय २९ रन बनाएका छन् । त्यसपछि ९० रनसाथ नेपाली ब्याट्सम्यानमा रोहित दोस्रो नम्बरमा छन् । चार खेलमा शरद भेषावकरले ७३ र आरिफको ६४ रन छ । पारसले बाहेक अरुले अर्धशतक बनाउन सकेका छैनन् । नेपालले नामिबिया, यूएई र केन्यासँगको खेल जित्दा बलर नै हाबी भएका छन् । लेग स्पिनर सन्दीप लामिछानेले १४ र तीव्र गतिका बलर सोमपाल कामीले ९ विकेट लिइसकेका छन् ।
ओमानलाई ८ विकेट, यूएईलाई २३ रन र केन्यालाई ५९ रनले पराजित गरी पहिलो तीन खेलमा जित हात पारेको क्यानाडा मंगलबार चौथो चरणको खेलमा घरेलु टोली नामिबियासँग १७ रनले पराजित भएपछि समीकरण झन् रोचक बनेको थियो । २०१४ को विश्वकप छनोटपछि रेलिगेसनमा पदै क्यानाडा डिभिजन २ हुँदै ३ मा झरेको थियो । डिभिजन ३ को उपविजेता बन्दै क्यानाडा डिभिजन २ मा खेलिरहेको हो ।
चारपल्ट विश्वकप खेलिसकेको क्यानाडालाई पुरानै स्थानमा पुर्याउने प्रयासमा रवीन्दु गुनासेकाराले २ सय ७, नितिश कुमारले १ सय ६८, धानुका पाथिरानाले ९५, नवनित धालिवालले ७८ रन बनाएका छन् । निखिल दत्तले ८ विकेट लिएका छन् । सन् २०१५ मा नामिबियामै भएको पछिल्लो विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले क्यानाडालाई ७ विकेटले पराजित गरेको थियो । २०१४ को विश्वकप छनोटमा भने क्यानाडाले नेपालमाथि १२ रनको झिनो अन्तरमा जित पाएको थियो ।