माघ २८, २०७४ पारस खड्काले कप्तानी पारी खेलेपछि विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगत यूएईविरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । आजको जितसँगै नेपाल ३ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नामिबियामा जारी प्रतियोगितामा १ सय १५ लक्ष्य नेपालले ३१ वल बांकी हुँदा ६ विकेट गुमाएर भेट्टाएको हो । नेपालको जितमा क्याप्टेन खड्काले अर्धसतकीय पारी खेले । ४८ वलमा ५१ रन जोड्दा आमिर हायातको बलमा क्याच आउट हुन पुगेका पारसले ५ छक्का र २ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्ल ५, दिपेन्द्र सिंह ऐरी ४, शरद भेषावकर ३ र दिलिप नाथ २ रनमा आउट भएपछि संकटमा परेको नेपाली इनिङ्स पारस एक्लैले सम्हालेका थिए । १० रन जोड्दा २ विकेट गुमाएको स्थिति सम्हाल्दै उनले ऐरी, भेषावकर र आरिफ शेखसँग मिलेर ६६ रनको साझेदारी गरेका थिए । आरिफ १६ रनमा अहमद राजाको बलमा एलबीडब्लु धरापमा परे । रोहित कुमार पौडेल १२ र सोमपाल कामी १० रनमा अविजित रहे । यसअघि नेपाली बलरले कसिलो बलिङ गरेपछि यूएई ३१ ओभरमा १ सय १४ रनमा समेटिएको थियो । ओसिलो पिचका कारण ढिला गरी सुरु खेल ३४ ओभरमा छोट्याईएको थियो । यूएईलाई सस्तैमा समेट्न सोमपाल कामीले ४ विकेट लिए । यस्तै सन्दिप लामिछानेले ३, क्याप्टेन पारस खड्काले २ र करण केसीले एक विकेट चट्काए । यूएईका लागि साइमन अनवरले सर्वाधिक ३० रन जोड्दा चार जनाले दोहोरो अंक छुन सकेनन् । अस्फाक अहमद र उस्मान मोहमद भने गोल्डेन डक आउट भए । यस्तै आजै भएको अर्को खेलमा केन्यालाई ५९ रनले पराजित गर्दै क्यानाडा ६ अंक सहित तालिकाको शीर्ष स्थानमा कायम छ । जारी प्रतियोगितामा क्यानाडाको यो लगातार तेस्रो जित हो ।