माघ २६, २०७४ नामिबियामा जारी वल्र्ड क्रिकेट लिग डिभिजन–टु अन्र्तगत आफ्नो दोस्रो खेलमा नेपालले ओमानसामु १ सय ३९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । विगतमा झै ब्याटिङ नचल्दा नेपाल ४६ ओभरमा १ सय ३८ रनमा समेटिएको हो । नेपालका लागि शरद भेषावकरले सर्वाधिक २२ रन बनाए । दिपेन्द्रसिंह ऐरी २०, दिलिप नाथ १९, पारस खड्का र सोमपाल कामी समान १७ र रोहितकुमार पौडेलले १४ रन बनाए । ज्ञानेन्द्र मल्ल, आरिफ शेख, बसन्त रेग्मी, करण केसी र सन्दिप लामिछानेले दोहोरो अंक छुन सकेनन् । नेपालले आफ्नो इनिङ्समा १४ वटा चौका प्रहार गर्दा छक्का भने हिर्काउन सकेन । नेपाललाई सस्तैमा समेट्न कालीमुल्लाहले ४ तथा बिलाल खानले २ विकेट लिए । ओमान केहीबेरपछि १३९ रनको लक्ष्य सहित मैदान उत्रनेछ । पहिलो खेलमा हिजो घरेलु टोली नामिबियामाथि १ विकेटको सनसनीपूर्ण जित हात पारेको नेपाल, प्रतियोगिताको दोस्रो जित हात पार्दै शीर्ष दुईमा पुग्ने लक्ष्यमा छ । पहिलो खेलमा नामिबियाले नेपाललाई १ सय ३९ रनको लक्ष्य दिएको थियो भने आज नेपालले सोही लक्ष्य ओमान सामु प्रस्तुत गरेको हो । ओमान भने नेपालमाथि जित निकाल्दै प्रतियोगिताको पहिलो जित निकाल्ने दाउमा रहेको छ । ओमान आफ्नो पहिलो खेलमा हिजो क्यानडासँग ८ विकेटले पराजित भएको थियो ।